२२कार्तिक,भरतपुर।
चितवनमा बोलेरोले स्कुटर र मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ११:४० बजेको समयमा चितवनको भरतपुर महानगरपालिका-२४, लक्ष्मणचोकमा बोलेरो गाडी, स्कुटर, र मोटरसाइकल एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको हो भने दुईजना गम्भीर घाइते भएका छन्।

प्र. ३-०१-०२४च ४९९३ नम्बरको बोलेरो गाडीले बा.प्र.०३-००१प ३६५६ नम्बरको मोटरसाइकल र प्रदेश ३-०३-००१प ८८८२ नम्बरको स्कुटरलाई आज बिहान ठक्कर दिएको थियो। दुर्घटनामा परी स्कुटरमा सवार ३७ वर्षीया रामकुमारी गुरुङ गम्भीर घाइते भएकी थिइन् । उनलाई थप उपचारका लागि अस्पताल पुर्याइएको थियो तर उपचारका क्रममा दिउँसो १२:०५ बजेको समयमा उनको मृत्यु भएको चितवन प्रहरी प्रवक्ता भेषराज रिजालले जानकारी दिए।
घटनामा स्कुटर चालक ३१ वर्षीय सोजन शेरचन र मोटरसाइकल चालक ३१ वर्षीय हरिशरण थापा मगर घाइते भएका छन्। दुवैजनाको पुरानो मेडिकल कलेज, भरतपुरमा उपचार भइरहेको छ।
प्रहरीले दुर्घटनामा संलग्न तीन वटै सवारी साधनलाई नियन्त्रणमा लिएको छ। साथै ठक्कर दिने बोलेरोका चालक गैडाकोट नगरपालिका-४ का ३४ वर्षीय राम खनाललाई समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।



प्रतिकृया दिनुहोस्