२६ कार्तिक,भरतपुर।
अाज देखि गैँडाकाेट स्थित नारायणी किनारमा दोस्रो गण्डकी प्रदेश महोत्सव शुभारम्भ भएकाे छ । साेमबार प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले महाेत्सवकाे समुद्घाटन गरेका हुन् ।
दोस्रो गण्डकी प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कृषि महोत्सव मंसिर १० गतेसम्म चल्नेछ । गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाकाे खाेजी र पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले जानकारी दिए।
यसपटकको महोत्सवमा नेपालमै पहिलोपटक ‘अन्डरवाटर फिस टनेल’ राखिएको भन्दै यसले दर्शकहरुलाई नौलो स्वाद पस्किने उनको भनाइ छ । महोत्सवको शोभायात्रामा तीन सय भन्दा बढी संघसंस्थाहरुबाट पाँच हजार भन्दा बढी मानिसको सहभागिता रहेकाे थियाे । गैँडाकोट नगरपालिकाबाट सुरु भएकाे शोभायात्रा नगरको विभिन्न भाग हुँदै महोत्सव स्थल नारायणी नदी किनारमा पुगेर समापन गरिएकाे थियाे ।
महोत्सवमा थारु, तामाङ, गुरुङ, चेपाङ र मगरको संस्कृतिबारे जानकारी दिन उनीहरुको छुट्टाछुट्टै सांस्कृतिक घर निर्माण गरी उनीहरुले प्रयोग गर्ने परम्परागत सामग्री राखिएको छ । तीन सय स्टल रहने महोत्सवमा कृषि उत्पादनका लागि ५० वटा स्टल निःशुल्क छ ।
महोत्सवको व्यवस्थापन राजधानी एम्युजमेन्ट राइट्स नेपालले गरेको छ । व्यवस्थापन संस्थाले महोत्सव परिसरभित्र दुई सय फिट लम्बाइ तथा ६० फिट चौडाइ भएको टनेल निर्माण गरी विभिन्न प्रकारका माछा राखेर हेर्ने व्यवस्था मिलाएकाे छ ।
यो टनेल हेर्नका लागि नेपालबाट बर्सेनि धेरै मान्छेहरु दुबई जाने गरेका छन् ,दुबईमा देख्न पाइने टनेलको माछा अब गैँडकोटमा सञ्चालन हुने महोत्सवमा देख्न पाइन्छ, यो नेपालमै पहिलो र एकमात्रै प्रविधि हो ।
टनेलभित्र पानीमा राखिएकाे माछाको लम्बाइ ६ फिटसम्मको छ । ती माछाहरु चीनबाट ल्याइएका तथा विभिन्न रङ्ग र आकारका छन् ।
टनेलभित्र एकैपटक पाँच सय जना मान्छे प्रवेश गरेर माछा हेर्ने व्यवस्था गर्न डोम निर्माण गरिएकाे छ ।एसीसहितको टनेलमा छुट्टाछुट्टै डोम राखेर माछा राखिएकाे हाे ।
दोस्रो संस्करणको महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामानलगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका छन् । सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण मानिन्छ ।
महोत्सवमार्फत नवलपुरका पर्यटकीय क्षेत्रको प्रवद्र्धनसँगै सम्भावनाको खोजी गरिने, नवलपुरको त्रिवेणीधामदेखि पोखरा हुँदै मुक्तिनाथ मन्दिरसम्मको धार्मिक पर्यटकीय करिडोरको प्रचारप्रसार गर्ने, त्रिवेणी–कोरला राजमार्गको दिगो सञ्चालन, दुवै ठाउँमा अन्तर्राष्ट्रियस्तरको भन्सार कार्यालय स्थापनाका लागि सरोकारवालाई ध्यानाकर्षण गराउनु मेलाको प्रमुख उद्देश्य रहेकाे छ ।
महोत्सवमा रु एक करोड ७० लाखको कारोबार हुने तथा रु ३० लाख बचत हुने अनुमान अायाेजककाे छ ।
एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइएकाे हाे ।


प्रतिकृया दिनुहोस्