गैँडाकोट, १ मंसिर ।
दोस्रो संस्करणको गण्डकी प्रदेश महोत्सव २०८१ मा आज चर्चित कलाकारहरु रामजी खाँण र प्रिती आलेले बेजाेड प्रस्तुती दिएका छन् ।गैँडाकोट–२ स्थित नारायणी नदीकिनारमा सञ्चालन भइरहेको महोत्सवमा आज शनिबार साँझ आले र खाँण सँगै दीपक खड्का, विमता घर्ती मगर, टीकाराम ढकाल, सृष्टि पौडेललगायतका कलाकारको प्रस्तुती रहेकाे सांस्कृतिक कार्यक्रम सहसंयोजक किशोर लम्सालले जानकारी दिनुभयो ।
शुक्रबारसम्म महोत्सवमा ४० हजार दर्शकले अवलोकन गरेको भन्दै आज शनिबार बिदाको दिनमा दर्शकको राम्रो उपस्थिति रहेकाे आयोजकले जानकारी दिएकाे छ । महोत्सवमा हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहेको लम्सालले बताउनुभयो ।
दोस्रो संस्करणको यस महोत्सवमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषि मेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिहरुको प्रदर्शनी, दैनिक उपभोग्य वस्तु तथा घरायसी सामानहरु, लत्ताकपडा, शृङ्गारका सामान लगायतका तीन सयभन्दा बढी स्टलहरु रहेका नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष एवम् महोत्सव मूल समिति संयोजक अमृत भट्टचनले जानकारी दिनुभयो ।
सिङ्गो गण्डकी प्रदेशलाई मेलामार्फत जोड्न तथा पर्यटन प्रवद्र्धन गर्नका लागि यो महोत्सव आफैमा महत्वपूर्ण भएको उहाँको दाबी छ । कात्तिक २६ गते सुरु भएको महोत्सव मङ्सिर १० गतेसम्म सञ्चालन हुनेछ ।
एक लाख भन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्य लिइएको महोत्सव प्रवेशका लागि रु ८० तथा विद्यार्थीको लागि रु ५० को टिकट एवम् ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । रु ८० को टिकट काटेर महोत्सव अवलोकन गर्ने दर्शकहरुलाई मौलाकाली केबलकारको टिकटमा ५० प्रतिशत छुट दिइनेसमेत उहाँको भनाइ छ ।


प्रतिकृया दिनुहोस्