रत्ननगर,चैत १०
पुर्वीचितवनको रत्ननगर-७ स्थित सौराहामा रहेको सपना स्कुलकाे सातौँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिकि अध्यक्ष वर्षा पुरी गिरीकाे सभाध्यक्षता रहेकाे कार्यक्रमकाे रत्ननगर नगरपालिकाका शिक्षा अधिकारी नारायण वाग्ले प्रमुख अतिथि रहेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथी वाग्लेले सपना स्कूल अन्य विद्यालयभन्दा फरक रहेको र केवल किताबी शिक्षा मात्र नभई व्यवहारिक ज्ञान प्रदान गर्दै आएको बताए।
त्यस्तै, कार्यक्रममा सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष एवं विद्यालयका संरक्षक ध्रुव गिरीले विद्यालयको मूल नारा “बच्चाको भविष्य नै अभिभावकको भविष्य हो”लाई अगाडि सार्दै अभिभावक र समाजको भविष्य बालबालिकाको उज्ज्वल भविष्यसँग प्रत्यक्ष रूपमा जोडिएको कुरा व्यक्त गरे। “बच्चाहरूको भविष्य राम्रो भयो भने मात्रै हामी गर्व गर्न सक्छौं। उनीहरू सक्षम, शिक्षित र संस्कारी भए मात्र समाजको भविष्य उज्ज्वल बन्छ।उनले भने ।”बालबालिकाको भविष्य राम्रो बनाउनको लागि अहिले नै सही जग बसाल्न आवश्यक छ। यदि उनीहरूको आधार मजबुत भयो भने, जीवनमा अगाडि बढ्न र सफल बन्न सजिलो हुनेछ।”
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रत्ननगर वडा नं. ७ का वडा अध्यक्ष सजना महतो रहेका थिए।कार्यक्रममा विद्यार्थीहरुले स्वागत गीत ,नृत्य, गायन तथा अन्य सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए।
कार्यक्रममा अभिभावकतर्फ सुमन क्षेत्रीले आफ्नो मन्तव्य राखेका थिए । उनले सपना स्कूलमा आफ्ना बच्चा पढाउन पाएकोमा गर्व महसुस गरेको बताए।उनले सपना स्कूलले विद्यार्थीहरूलाई जिम्मेवार, संस्कारी र ज्ञानयुक्त बनाउने शिक्षा प्रदान गरिरहेको उल्लेख गर्दै विद्यालयप्रति आभार व्यक्त गरे।
सपना भिलेज सोसल ईम्प्याक्टको मातहतमा संचालित सो विद्यालयले विगत लामो समय देखि विद्यार्थीहरूलाई जीवन उपयोगी सीप र नैतिक मूल्य सिकाउने संस्कारयुक्त शिक्षा प्रदान गर्ने उल्लेखनीय कार्य गरिरहेको छ।
कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक सुर्य प्रसाद लामिछाने,सपना भिलेज सोसल ईम्प्याक्टका कार्यक्रम प्रमुख सुजन बस्नेत,रनपा-७ का वडा सदस्य माईली सुनार,सो विद्यालयकस संयोजक रोशनी तामाङ्ग लगायतकाे उपस्थिति रहेकाे थियाे ।
वि.सं २०७३ सालमा स्थापित सो विद्यालयमा मन्टेश्वरी विधिबाट शिक्षण हुँदै आएको छ।कक्षा १ सम्म अध्यापन हुने सो विद्यालयमा हाल ५ शिक्षक र ३ जना कर्मचारी कार्यरत छन।


प्रतिकृया दिनुहोस्