रत्नगर, वैशाख २६
चितवनको सौराहाका व्यवसायीले घुमौँ सौराहा अभियानलाई निरन्तरता दिएका छन् । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि व्यवसायीले बिहिबारदेखि पश्चिम नेपाल केन्द्रित अभियानलाई निरन्तरता दिएका हुन् ।चार वर्षअघि पूर्वीनेपालबाट सुरु भएको अभियान केही समयका लागि स्थगित भएको थियो । हाल स्थानीय सरकारसँगको समन्वयमा निरन्तरता दिइएको क्षेत्रीय होटल सङ्घ चितवनका अध्यक्ष ओमप्रकाश पाण्डेले जानकारी दिनुभयो ।
उहाँले मुलुकको तेस्रो पर्यटकीय गन्तव्य सौराहासहित चितवनको पर्यटनलाई थप उचाइमा पुरयाउने उद्देश्यले अभियान सुरु गरिएको बताउनुभयो ।स्थानीय सरकारको रूपमा रहेको रत्ननगर नगरपालिका, रत्ननगर पर्यटन प्रवर्द्धन समिति, क्षेत्रीय होटल सङ्घ चितवनसहित पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घसंस्थाको सहकार्यमा अभियानलाई निरन्तरता दिइएको उहाँको भनाइ छ ।
“चितवन भित्रिने पर्यटकको सङ्ख्या दोब्बर बनाउने उद्देश्यका साथ दोस्रो पटक सुरु गरिएको अभियान लिएर पश्चिम नेपालको यात्रामा निस्किएका छौँ,” उहाँले भन्नुभयो, “अभियानले पर्यटन क्षेत्र थप चलायमान बन्नेछ ।”
अभियानमा निस्किएका जनप्रतिनिधि, व्यवसायी तथा संरक्षणकर्मीको टोलीलाई रत्ननगर नगरपालिकाका उपमेयर यादवप्रसाद पाठक र प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले बिदाइ गर्नुभयो ।
पश्चिम नेपालका तीन वटा प्रदेश अन्तर्गतका मुख्य सहरमा पुगेर सरकार प्रमुखसहित जनप्रतिनिधि, व्यवसायीसँग अन्तरक्रिया गरी सौराहा आउन पर्यटकलाई आह्वान गर्ने पाण्डेले जानकारी दिनुभयो ।


प्रतिकृया दिनुहोस्