१० साउन, २०८२, चितवन ।
चक्रीय अर्थतन्त्र, जलवायु परिवर्तन र दिगोपनाका विषयमा दुईदिने पत्रकार अभिमुखीकरण प्रशिक्षण शनिबार चितवनको पर्यटकियस्थल सौराहामा सम्पन्न भएको छ । वाइल्ड लाईफ कन्जर्भेसन नेपालले इमप्याक्ट हब काठमाडौं र इमप्याक्ट हब एसोसियसनको सहकार्यमा तथा वन तथा वातावरण मन्त्रालयको सहयोगमा साउन ९ र १० गते आयोजना गरेको उक्त कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट आएका २२ जना पत्रकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा सहजकर्ता वाइल्ड लाईफ कन्जर्भेसन नेपालकी निर्देशक सञ्जीवनी योनजनले चक्रीय अर्थतन्त्रको मूल अवधारणा, यसको महत्व र आजको समयमा यसको आवश्यकता बारे विस्तृत प्रष्टिकरण दिनुभयो । उहाँले पुनःप्रयोग, फोहोर व्यवस्थापन र दिगो उत्पादन–उपभोग प्रणालीलाई चक्रीय अर्थतन्त्रका आधारभूत स्तम्भका रूपमा व्याख्या गर्दै यसले जलवायु संकट समाधानमा महत्वपूर्ण योगदान पुर्याउने बताउनुभयो । मानिसको व्यवहारमा परिवर्तन ल्याउन नसकेसम्म पर्यावरणलाई ठुलो समस्या पारिरहेका यस्ता विषयहरूमा सुधार ल्याउन नसक्ने भएकाले समुदाय स्थरमा सचेतना र पैरवीका लागि पनि पत्रकारहरूको महत्वपुर्ण भुमीका रहने योनजनले बताउनुभयो ।
त्यस्तै पर्यावरणीय संचार विज्ञ पिताम्बर सिग्देलले नेपालमा चक्रीय अर्थतन्त्रसँग सम्बन्धित सफल अभ्यास र स्थानीय स्तरमा भइरहेको पहलका उदाहरण प्रस्तुत गर्नुभयो । उहाँले पत्रकारहरूले स्थानीय सफल कथाहरू सार्वजनिक गरेर समाजमा चेतना फैलाउने र नीति निर्माणकर्तामा दबाब सिर्जना गर्न सक्ने भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
अभिमुखीकरणमा सहभागी पत्रकारहरूले जलवायु परिवर्तन र दिगोपनासम्बन्धी विषयलाई प्रभावकारी ढंगले समाचारमा उतार्न आवश्यक ज्ञान तथा सीप प्राप्त गरेको अनुभव बाँडे । सामुहिक छलफलको माध्यमबाट चक्रीय अर्थतन्त्रका अवधारणालाई दैनिक समाचार र खोज पत्रकारितामा समेट्दा जनचेतना अभिवृद्धि हुने विश्वास सहित सम्भावना र अवस्थालाई उजागर गर्न विभिन्न विषयमा छलफल समेत भएको थियो ।

कार्यक्रमले पत्रकारहरूलाई पर्यावरणीय विषयमा गहिरो बुझाइ विकास गर्न र दिगो विकासका पक्षमा जनमत निर्माणमा सहयोग गर्ने उद्देश्य लिएको आयोजकहरूले जनाएका छन् ।


प्रतिकृया दिनुहोस्