३० पुस,चितवन।
समीर चापागाईं
चितवनको माडीका पूर्व नगर प्रमुख एबं हालका बागमती प्रदेश सदस्य ठाकुर प्रसाद ढकालले केही दिन अघि आफ्नो सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरे। जसमा कुनै एक घरमा एकजना महिलाको अगाडि दुई बालबालिकालाई जबरजस्त चुनावको प्रचारप्रसार गर्न लगाइएको प्रस्ट देख्न सकिन्छ ।
ठाकुर प्रसाद ढकाल ,उनी नेपाली कम्युनिस्ट पार्टीका प्रभावशाली नेता हुन्।उनकै पार्टीबाट यसपटक चितवन ३ मा हाल भरतपुर महानगरको प्रमुख रेनु दाहालको चुनाव लडने तयारी छ ।त्यसैले सोही क्षेत्रमा ढकालले दाहाललाई जिताउन प्रचारप्रसारलाई तिब्र बनाएका हुन् । फाल्गुन २१ मा हुन लागेको संघीय निर्वाचन नजिकिँदै गर्दा आफ्नो पार्टीको संभावित उम्मेदवार जिताउन उनको यो कसरतलाई स्वभाविक मान्न सकिन्छ ।तर उनले चुनावी प्रचारप्रसारमा बालबालिकालाई मोहोरा नै बनाउँदा भने सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नु परेको छ । यस विषयमा सामाजिक सञ्जालमा उनको प्रचार शैली माथि प्रश्न उठेपछि उनले हाललाई उक्त भिडियो सामाजिक सञ्जालबाट हटाएका छन् ।
ढकालले बालबालिकालाई चुनावी प्रचारमा प्रयोग गरेको भन्दै जेञ्जी माडी चितवनले विज्ञप्ती नै सार्वजनिक गरेर कारबाहीको माग समेत गरेको थियो । यस्तो चौतर्फी प्रश्न उठ्दा समेत माडीका पूर्व नगरप्रमुख एबं हालका प्रदेश सांसद ढकालले पोस्ट त डिलेट गरे ,हालसम्म उनले माफी मागेका छैनन।
घटना सार्वजनिक भएको लामो समयसम्म कानुन निर्माताले माफी नमाग्नु दुःखद भएको जेन्जि माडीका एक सदस्यले बताए।
यता ढकालको कर्तुत सेलाउन नपाउँदै कलाकार बुद्धि बहादुर भुजेलले समेत चुनावी प्रचारप्रसारमा बालबालिकाको प्रयोग गरेका छन् । भरतपुरको हाल नगर प्रमुख दाहालले गरेको विकासको गीत गाउँदा पछाडिपट्टि उनले बालबालिकालाई राखेर सामाजिक सञ्जालमा उक्त भिडियो पोस्ट गरे । उनको भिडियोमा गीत गाएको केही अवधिसम्म बालबालिकालाई देखाइएको छ । यी त केही प्रतिनिधि उदाहरण मात्रै हुन् ।
चुनाव नजिकिँदै गर्दा निर्वाचन आयोगले जारी गरेको आचारसंहिताको धज्जी उडाउनेमा राजनीतिक दलकै नेता कार्यकर्ता अग्रस्थानमा छन्।प्रचारप्रसारमा बालबालिकाको प्रयोग निर्वाचन आचारसंहिताले बन्देज लगाएको मुख्य बुँदा हो तर चुनावको समयमा यही कुराको धेरै उललंघनका घटना बाहिर आउँछन् ।
निर्वाचन आयोग कार्यालय चितवनका प्रमुख भीमसेन कार्कीले आचारसंहिता लागू नभइसकेकाले अनुगमन नगरेको बताए।”आउने निर्वाचनका लागि माघ ३ वा ५ गतेदेखि आचारसंहिता लागू गर्छौं।त्यसपछि अनुगमनलाई तिब्र बनाउँछौं।आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दललाई स्पष्टीकरण सोध्ने हो ,सचेत गराउने हो । यस विषयमा कसैलाई लगेर थुन्ने भन्ने हुँदैन ।” प्रमुख कार्कीले चितवन अपडेटसँग भने।
नेपालको प्रचलित निर्वाचन आयोगको आचारसंहिता तथा बालबालिका एन २०७५ ले बालबालिकालाई राजनीतिक गतिविधि ,चुनावी प्रचारप्रसार तथा कुनै पनि प्रकारको राजनीतिक लाभलाई निषेध गरेको छ ।


प्रतिकृया दिनुहोस्