नारायणगढ, भदौ ४
डिभिजन वन कार्यालय, चितवनले गत आर्थिक वर्षमा जिल्लाका विभिन्न १३ स्थानबाट १५५ जोखिमयुक्त रुख व्यवस्थापन गरेको छ।
सडक, सुरक्षा निकायका परिसर तथा विद्युत् प्रसारण लाइन आसपासबाट हटाइएका रुखबाट १ हजार ५७५ थान काठका गोलिया तथा ठुटा, ११ हजार ८०९.६२ क्युफिट काठ र १६.४५ चट्टा दाउरा सङ्कलन भएको कार्यालयले जनाएको छ।
कार्यालयका वन अधिकृत दिनेश हुमागाईंका अनुसार भरतपुरको आपटारी–देवघाट सडकखण्डबाट सबैभन्दा धेरै २५ रुख हटाइएको हो। भोजाड–लङ्कालाइन–पदमपुर क्षेत्रबाट ३४, रामपुर–चानौली सडकखण्डबाट २६, डिभिजन वन कार्यालय परिसरबाट २१ र मस्र्याङ्दी–करिडोर २२० केभी प्रसारण लाइन क्षेत्रबाट १६ रुख हटाइएको छ।
जोखिमयुक्त रुख व्यवस्थापनबाट जनधनको क्षति न्यूनीकरणसँगै सडक तथा विद्युत् पूर्वाधारको सुरक्षा गर्ने उद्देश्य रहेको कार्यालयले जनाएको छ। हटाइएका रुखबाट प्राप्त काठ तथा दाउरा लिलामीका लागि सूचना प्रकाशित भइसकेको छ।
अन्य स्थानबाट पनि जोखिमयुक्त रुख व्यवस्थापनको माग आइरहेको भन्दै कार्यालयले तथ्याङ्क सङ्कलन तथा अध्ययन गरिरहेको जनाएको छ। आवश्यक प्रक्रिया पूरा गरी आगामी असोजदेखि थप जोखिमयुक्त रुख कटान तथा व्यवस्थापन** गरिने वन अधिकृत हुमागाईंले बताउनुभयो।


प्रतिकृया दिनुहोस्