चितवन, भदौ ५
पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा पछिल्ला तीन आर्थिक वर्षमा बिरामीको सङ्ख्या निरन्तर बढेको छ। गत आर्थिक वर्षमा मात्रै अस्पतालको बहिरङ सेवाबाट ३ लाख १७ हजार २६६ जनाले उपचार लिएका छन्।
अस्पतालका अनुसार आर्थिक वर्ष २०८०र८१ मा २ लाख ४५ हजार ६९४, २०८१र८२ मा २ लाख ९६ हजार ५३८ र गत आवमा ३ लाख १७ हजार २६६ जनाले बहिरङ सेवा लिएका हुन्। अहिले दैनिक करिब १ हजार २०० जनाले बहिरङ सेवा लिने गरेका छन्। अस्पतालले हाल २० प्रकारका उपचार सेवा दिँदै आएको छ।
अस्पतालमा आउने बिरामीमध्ये ८५ प्रतिशत स्वास्थ्य बिमाका रहेका छन्। गत आवमा २ लाख ९५ हजार ४९ जनाले स्वास्थ्य बिमामार्फत उपचार सेवा लिएका थिए।
आकस्मिक सेवामा पनि बिरामीको चाप बढेको छ। आव २०८०र८१ मा १८ हजार १०७, २०८१र८२ मा २३ हजार ४६० र गत आवमा २७ हजार ६६ जनाले आकस्मिक सेवा लिएका छन्। तीमध्ये क्रमशः ३ हजार ९८०, ४ हजार ५२० र ४ हजार ६८५ जना भर्ना भएका थिए।
त्यस्तै, अस्पतालमा प्रसूति सेवा लिने महिलाको सङ्ख्या पनि बढेको छ। आव २०८०र८१ मा ७५५, २०८१र८२ मा ७५२ र गत आवमा ९२५ जनाले प्रसूति सेवा लिएका छन्। अस्पतालमा प्रसूति सेवा सुरु भएपछि पूर्वी चितवनका महिलालाई प्रसूतिका लागि भरतपुर अस्पताल पुग्नुपर्ने बाध्यता घटेको छ।


प्रतिकृया दिनुहोस्