भदौ ९ ,चितवन
भरतपुर महानगरपालिका–१० स्थित गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ निर्माण गरिने भएको छ। जिल्ला समन्वय समिति ९जिसस० चितवनको ९औँ जिल्ला सभाले साविक जिल्ला विकास समितिको नाममा रहेको कित्ता नम्बर १९५९ को जग्गामध्ये एक बिघा १६ कठ्ठा १४ धुर जग्गा सहिद मैदान निर्माणका लागि भरतपुर महानगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको हो।
भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीका अनुसार गेस्ट हाउस चौरको ऐतिहासिक पृष्ठभूमि संरक्षण गर्दै देशका लागि योगदान गरेका सहिदहरूको सम्मान र सम्झनामा व्यवस्थित सहिद मैदान निर्माण गर्न लागिएको हो। भरतपुरको केन्द्रभागमा रहेको उक्त स्थललाई राष्ट्रिय तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्न सकिने गरी विकास गरिने उहाँले बताउनुभयो।
सहिद मैदान निर्माणका लागि हाल एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ। मैदानको स्तरोन्नति तथा सम्याउने कार्यका लागि महानगरपालिकाको नयाँ प्रशासकीय भवन निर्माणका क्रममा सङ्कलन गरिएको माटो प्रयोग गरी पुर्ने काम भइरहेको छ।
महानगरपालिकाले मैदानमा हाल रहेको मञ्चलाई व्यवस्थित तथा सुदृढ गर्ने, आकर्षक मुख्य प्रवेशद्वार निर्माण गर्ने, घेराबार गर्ने, दुवैतर्फ ढल निकासको व्यवस्था गर्ने, फुटपाथ, हरित क्षेत्र तथा अत्याधुनिक स्मार्ट शौचालय निर्माण गर्ने योजना बनाएको छ। यी सबै पूर्वाधार निर्माणका कामलाई एउटै प्याकेजमा समेटेर बोलपत्र आह्वान गर्ने अन्तिम तयारी भइरहेको जनाइएको छ।
कार्यवाहक प्रमुख अधिकारीका अनुसार आगामी माघ १६ गते सहिद दिवसको अवसरमा सहिद मैदानको औपचारिक शुभारम्भ गर्ने लक्ष्य राखिएको छ।


प्रतिकृया दिनुहोस्