चितवन, असार २९
चितवनको इच्छाकामना गाउँपालिकाले पहिलो पटक गाउँमा सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ । गाउँपालिकाले वडा नं. २ स्थित मायाटारमा आर्थिक वर्ष २०७९/८० को तेश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।
आधारभुत विद्यालय मायाटारको सभाहलमा भएकाे सार्वजनिक सुनुवाई कार्यक्रम गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङको अध्यक्षतामा आयोजना गरिएको थियो । विकास निर्माणमा हुने ढिला सुस्ती , उपभोक्ता समिति मार्फत भएका योजनाहरुको भुक्तानीमा ढिलाई हुने, सम्झौता अनुसार बजेट उपलब्ध नहुने लगायतका समस्या बारे सहभागीहरुले प्रश्न गरेका थिए । उनीहरुले वडा नम्बर २ मा विद्युत विस्तारको काममा ठेकेदारले ढिला सुस्ती गरेको भन्दै गाउँपालिकाको ध्यानाकर्षण समेत गराएका थिए ।
पर्याप्त अनुमगन नहुँदा विकास निर्माणको काम मापदण्ड विपरित हुने गरेको, फिस्लिङ–शक्तिखोर सडकको केही स्थानमा सडक स्तरोन्नती बाँकी रहेको हुँदा वर्षायाममा समस्या भएको, वर्लेङस्थित रिग्दीखोलाको पुल निर्माण अलपत्र हुँदा आवतजावत गर्न समस्या भएको लगायतका विषयमा उनीहरूले गाउँपालिकाको ध्यानाकर्षण गराएका थिए ।
कायक्रमलाइ सम्बोधन गदै गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जनताहरुको समस्या बुझ्न र समस्या समाधान गर्न लागीपरेकाे र अब जन लाग्ने बताए। साथै सुझावहरु लिनका लागि सबै वडामा आलोपालो गरि सार्वजनिक सुनुवाई कार्यक्रम गरिने अध्यक्ष गुरुङले बताए ।


प्रतिकृया दिनुहोस्