जियोर्दानो ब्रूनो (१५९०) दशकका प्रसिद्ध खगोलविद् तथा गणितज्ञ हुनुहुन्थ्यो र आज पनि उहाँ स्वतन्त्र विचारकका रुपमा विश्वमा प्रसिद्ध हुनुहुन्छ । उहाँ ले heliocentric theory अर्थात सूर्य बीचमा रही पृथ्वी लगायत अन्य ग्रहले यसलाई परिक्रमा गर्दछ भन्ने सिद्धान्त प्रतिपादन गर्नुभएकाे थियाे ।
बिश्व ब्रह्माण्ड हामीले सोचे भन्दा अधिक ठुलो छ, आकाश अनन्त छ भन्ने जस्ता धेरै वैज्ञानिक आधारहरू प्रस्तुत गर्नु भएको थियो जुन तत्कालीन समयमा धार्मिक आस्था र मान्यता विरुद्ध थियो।
धार्मिक आस्था विपरीतको अफवाह फैलाएको, धार्मिक मान्यता विरुद्ध बोलेको जस्ता आरोप लगाई उहाँलाई सन् १६०० मा क्याथाेलिक चर्चका धर्म गुरुहरूले जिउँदै जलाउने आदेश दिए र सोही आदेश अनुसार उहाँलाई रोम सहरमा सयाैँ मानिसहरूको बिचमा जिउँदै जलाइयो।
पछि १८०० र १९०० शताब्दीमा धेरै वैज्ञानिक खोजहरू भए जसले उहाँको सिद्धान्तलाई प्रतिस्थापन गर्यो।
मुल प्रश्न के हो भने खोज र अनुसन्धानलाई सङ्कुचनकाे रुपमा लिने त्यो समयको पश्चिमा समाजले आज विज्ञान र प्रविधि, शिक्षा र स्वास्थ्य मा कसरी यति ठुलो फड्को मार्न सक्यो हाेला ? त्यहाँको सामाजिक चेतनामा ठुलो परिवर्तन ल्याउन त्यहाँका विश्वविद्यालय र शैक्षिक प्रणालीले कसरी भूमिका खेल्यो होला ?
जर्मनी, बेलायत र अमेरिकाका केही आधुनिक युगका प्रारम्भिक विश्वविद्यालयहरूले समाजलाई नै नयाँ आयाम दिनसक्ने र सामाजिक चिन्तनको तरङ्ग पैदा गर्न सक्ने केही विचारक वा जनशक्ति उत्पादन गरी शैक्षिक प्रणाली वा पद्धतिको विकास गरेको देखिन्छ। जसले गर्दा ती पश्चिमादेशहरुमा खोज, आविष्कार र अनुसन्धानले सहर्ष स्थान पाएको देखिन्छ।
नेपालको शैक्षिक प्रणाली हेर्ने हो भने विश्वविद्यालयले तय गरेको पाठ्यक्रममा समावेश गरिएका विषयवस्तुलाई विद्यार्थीका माध्यम बाट कसरी समाजमा लाने र त्यो विषयवस्तुलाई समाजमा कसरी प्रयोगमा ल्याउने भन्ने कुराको कुनै तादात्म्यता देखिँदैन। त्यस कारण विश्वविद्यालयबाट परीक्षा केन्द्रित भएर उतिर्ण भएको जनशक्ति त निस्किन्छ तर आँफूले अध्ययन गरेको विषयवस्तुलाई समाजमा गएर कसरी प्रयोगमा ल्याउने भन्ने अन्योलका कारण त्यो जनशक्ति नै समग्र समाज र देशका लागि अनुत्पादक बन्न पुग्छ।
फलत: हाम्रो समाजमा पढेलेखेको भनिने जनशक्ति प्रयोग बिहिन भएर अदक्ष जनशक्तिको रुपमा हातमुख जाेर्नकै लागि बिदेशिन विवश छ। समस्या विश्वविद्यालयकाे पाठ्यक्रम वा शैक्षिक प्रणालीमा मात्र होइन । नेपालमा लागु भएको विद्यालयस्तरिय पाठ्यक्रम हेर्ने हो भने पनि विद्यार्थीकाे असल चरित्र निर्माण, असल आचरण, अनुशासन, कुशलता, जिवन उपयोगी शिक्षा र जिवन उपयोगी सिप सिकाउने भन्दा पनि सानो उमेर देखिनै आर्थिक पाटोलाई बढी जोड दिएको देखिन्छ।
अभिभावकहरू पनि आफ्ना सन्तानलाई घरमा के सिकाउने,के नसिकाउने भन्ने बिषयमा सचेत र जानकार देखिदैनन्। प्राय रुपमा धनि बन्नु पर्ने वा भनौ सफल हुनका लागि डाक्टर र पाइलट नै बन्नु पर्ने जुन सामाजिक मान्यता छ त्यसले गर्दा बालबालिकाको व्यक्तित्व बिकासको अन्य आयम नै प्रस्पुटन हुन नपाउने अवस्था छ।
ठूलो, बोझिलो र मोटो किताब पाठ्यक्रममा समावेश गर्दैमा विद्यार्थी जान्नि भई हाल्छ भन्ने मानसिक भ्रमबाट पहिले राज्यको शैक्षिक नीति निर्माण गर्ने तहमा पूगेका नीति निर्माता र त्यसपछी तपाई हामी निस्किनु आवश्यक छ। पाठ्यक्रममा उल्लेखित एउटा सामान्य विषयबस्तुको प्रयोगले मात्र पनि समाजमा कुन तहको तरङ्ग पैदा गर्न सक्छ भन्ने कुरामा न त विद्यार्थी न त शिक्षक नै जानकार छन, त्यसको प्रयोगात्मक प्रयोगको त झन सम्भावना नै रहेन।
हाम्रा पाठ्यक्रमहरु कमजाेर छन् वा प्रयोग बिहिन छन् भन्न खोजेको होइन, तर त्यो पाठ्यक्रमका विषयवस्तुलाई सहजीकरण गर्न जून प्रयोगात्मक चेत विद्यार्थी र शिक्षकमा हुनु पर्ने हो त्यो शून्यको अवस्थामा छ ।
पाठ्यक्रमको सिकाई र बुझाईबाट आउने जून किसिमको प्रतिफल हो, के त्यो प्रतिफल पर्याप्त छ त ? मुख्य प्रश्न यहाँ नेर हाे ।कुनै पनि देशको शैक्षिक प्रणालीको अवस्थाले त्यो देशको अन्य प्रणालीलाई पनि सचित्र ब्याख्या गर्दछ। नेपालको शैक्षिक प्रणाली हेरेर सजिलै नेपालको अन्य सुचकहरु कति खराब छ भन्ने कुरा प्रष्ट देख्न सकिन्छ। र पनि बर्तमान समयमा नेपालको शैक्षिक सुधारको लागि ठोस कदम चालेको देखिँदैन। शैक्षिक सुधारका लागी निचाेडसहितकाे बहस र छलफल भएको पनि देखिन्न।
संसद जहाँ मूलरुपमा शैक्षिक सुधारका लागी कानुनी तथा नीतीनिर्माण को तहमा नै बहस र छलफल हुनु पर्ने हो त्यहाँ यो बिषयले स्थान नै पाउने गरेकाे छैन । कारण के हुन सक्छ भने स्वयम् नीतिनिर्माण को तहमा पुगेकाहरु नै अनबिज्ञ छन्। नेपालका राजनीतिक पार्टी भित्र पनि शिक्षाको मोडल कस्तो हुने वा बनाउने भन्ने विषयकाे छलफल र बहसले स्थान पाएको सुनिदैन। केहि शैक्षिक अभियन्ताहरुले कहिलेकाँही आलेख लेख्ने र सार्वजनिक ठाऊँमा बोलेको त सुनिन्छ तर त्यो पर्याप्त भने छैन। संघियता पश्चात् स्थानिय तहले सिमित स्रोतसाधनका बाबजुद बिद्यालयको भौतिक सुधारका लागि केही लगानी गरेको त देखिन्छ तर शैक्षिक प्रणालीमा नै सुधार गर्न स्थानिय सरकार सँग नीतिगत क्षेत्राधिकार नभएको देखिन्छ।
प्रदेश सरकार त झन आँफु के गर्ने, के नगर्ने भन्ने बिषयमा नै अन्योलको स्थितिमा छ। केन्द्र सरकार जसले शैक्षिक सुधारका लागी मुख्यरुपमा भूमिका निर्बाह गर्नु पर्ने हो त्यो सरकार नै शिक्षालाई राजनीतिकरण गर्ने र त्यसबाट राजनीतिक लाभ लिन उद्दत देखिन्छ। सोही कारण तत्काल नेपालको शैक्षिक प्रणालीमा सुधार आउन सक्ने संकेत देखिँदैन। जब सम्म राज्यका तर्फबाट शैक्षिक खोज र अनुसन्धानमा पर्याप्त लगानी, उचित शैक्षिक नीति र प्रयोगमा आधारित शैक्षिक प्रणालीको सुनिश्चिता गर्न सकिँदैन तब सम्म हामी हाम्रो आर्थिक,सामाजिक र राजनीतिक पाटो पनि सबल र सक्षम बनाउन सम्भव छैन ।
त्यसका दुष्प्रभावबाट पर्ने असर बेरोजगारी, गरिबी, भ्रष्टाचार, बिदेशी सँगको आर्थिक परनिर्भरता, राजनीतिक अस्थिरता जस्ता समस्याहरु भोग्न हामी तयार हुनु पर्दछ जुन अहिले हामीले वर्तमान समयमा भोगी रहेका छौँ। शिक्षाले समाजका अन्य थुप्रै आयमहरु लाई सहि नेतृत्व गर्न र सहि परिचालन गर्न सक्छ। यदी समाजका अन्य क्षेत्रमा पनि गतिशिल परिवर्तन ल्याउने हो भने शिक्षाबाट त्यो परिवर्तनको सुरुवात गर्नु अपरिहार्य रहन्छ। आज हामीले देखेको पश्चिमा देशहरुको विज्ञान,प्रबिधी र अन्य क्षेत्रको बिकासमा उनिहरुले अवलम्बन गरेको शैक्षिक नीति, शैक्षिक खोज र अनुसन्धानमा गरिएको पर्याप्त लगानी, त्यहाँका विश्वविद्यालयले तय गरेको पाठ्यक्रम र त्यसले पारेको सामाजिक प्रभाव नै मुख्य आधारशिला हो।
गुणस्तरिय शिक्षाका मानकहरु के के हुन ति मानक हुनु र नहुनुमा समग्र शैक्षिक प्रणालीमा कस्तो असर पर्दछ भन्ने कुरामा राज्य संवेदनशील हुनु पर्दछ, तद अनुसारको शैक्षिक पूर्वाधार निर्माणमा पूँजी ब्यवस्थापन र नीति निर्माणमा पनि राज्य पक्ष उत्तिकै सक्षम भए मात्र हामीले हाम्रो सामाजिक, आर्थिक र राजनीतिक लक्ष्य हासिल गर्न सक्छौँ।
झोला बोकेर आफ्ना नानिबाबु विद्यालय जादै गर्दा समग्र विद्यालयको शैक्षिक वातावरण कस्तो छ, बिद्यालय प्रति उसको रुझान कस्तो छ, नियमित बिद्यालय जाँदै गर्दा उसको तार्किकतामा के परिवर्तन आयो, कुनै बिषयबस्तुप्रतिको बुझाई कस्तो छ भन्ने बारे अभिभावक र शिक्षक उत्तिकै संवेदनशील हुनु पर्दछ।
स्कूल तथा विश्वविद्यालयका विद्यार्थीले सैद्धान्तिकरुपमा सिकेका विषयवस्तुलाई प्रयोगमा ल्याउनका लागि प्रयोगात्मक शैक्षिक प्रणालीको बिकासमा जोड दिने र स्कूल तथा विश्वविद्यालय र समाज बीच प्रत्यक्ष सम्बन्ध स्थापना गर्न सक्ने पाठ्यक्रमको निर्माण गर्ने हो भने विद्यार्थीले विश्वविद्यालयकाे ज्ञान समाजमा प्रयोगमा ल्याउन सक्छन् र समाजमा घटित यावत सामाजिक विषयवस्तुहरुले विश्वविद्यालयमा स्थान पाउने अवस्था निर्माण हुन्छ। यसरी दोहोरो सम्बन्ध स्थापना गर्ने हो भने सामाजिक समस्याहरूको समाधान र सम्पूर्ण समाजको सबलीकरणमा नै टेवा पुग्नेमा दुई मत छैन । तर यि सबै पक्षलाई बुझ्न सक्ने, सही र प्रभावकारी निर्णय लिन सक्ने र सबैलाई साझा सहमतिमा ल्याउन सक्ने एउटा कुशल नेतृत्वको पर्खाइमा सम्पूर्ण शैक्षिक जगत छ ।तर यही विकृत प्रणालीबाट त्यो क्षमतावान् ब्यक्ति आउँछ , प्रश्न भने जिवित नै छ।
तिलक आचार्य समसामयिक विषयवस्तुमा कलम चलाउनुहुन्छ ।
१२ भदाै,२०८१ मा प्रकाशित


प्रतिकृया दिनुहोस्