चितवन, भदौ ३
चितवनको खैरहनी नगरपालिका क्षेत्रमा बर्खे धानमा पातको फेद डढुवा (शीथ ब्लाइट) रोग देखिन थालेपछि किसान चिन्तित बनेका छन्। नगरपालिकाका केही क्षेत्रमा धानको पातको फेदमा रोगका प्रारम्भिक लक्षण देखिन थालेपछि किसानलाई समयमै सचेत भएर बालीको नियमित निरीक्षण गर्न आग्रह गरिएको छ।
खैरहनी नगरपालिकाकी कृषि अधिकृत सिर्जना श्रेष्ठका अनुसार अहिले रोग व्यापक रूपमा फैलिएको अवस्था छैन। केही स्थानमा भने फाट्टफुट्ट रूपमा रोग देखिन थालेको जानकारी आएको छ। नगरपालिकाले खेतमै पुगेर रोगको अवस्थाबारे अनुगमन तथा रिपोर्टिङ गरिरहेको उहाँले बताउनुभयो।
“अहिले फेद डढुवा धेरै फैलिएको अवस्था छैन। केही ठाउँमा छिटफुट रूपमा देखिएको जानकारी आएको छ। हामीले खेतमै पुगेर यसको अवस्थाबारे रिपोर्टिङ गरिरहेका छौँ,” कृषि अधिकृत श्रेष्ठले भन्नुभयो।
फेद डढुवा राइजोक्टोनिया सोलानी नामक ढुसीका कारण लाग्ने गर्दछ। रोग लागेपछि सुरुमा धानको पातको फेदमा अण्डाकार खैरो–हरियो थोप्ला देखिन्छन्। प्रकोप बढ्दै गएमा ती थोप्ला क्रमशः फैलिँदै गई सिङ्गो बोट नै डढेको जस्तो देखिने कृषि अधिकृत श्रेष्ठले जानकारी दिनुभयो।
उहाँका अनुसार यो रोग माटोबाट समेत सर्न सक्ने भएकाले धान रोप्नुअघि नगरपालिकाबाट अनुदानमा उपलब्ध हुने जैविक विषादी प्रयोग गरी माटो उपचार गर्न सकिन्छ। साथै, बीउ उपचारका लागि कार्बेन्डाजिम दुई ग्राम प्रतिकिलो बीउका दरले प्रयोग गर्न उहाँले सुझाव दिनुभएको छ।


प्रतिकृया दिनुहोस्