चितवन, भदौ ८
माडी नगरपालिका–९ भालुखोलास्थित जनजागृति आधारभूत विद्यालयमा करार शिक्षक नियुक्तिका लागि पुनः परीक्षा हुने भएको छ।
गत साउन ११ गते भएको परीक्षामा परीक्षार्थीको कोडिङमा प्राविधिक त्रुटि भएपछि नगरपालिकाले परीक्षा रद्द गरी पुनः परीक्षा लिने निर्णय गरेको हो। नगरपालिकाले उक्त त्रुटि मानवीय भूल भएको जनाएको छ।
परीक्षार्थी धिरज महतोले प्राप्ताङ्कमा त्रुटि भएको भन्दै सुरुमै निवेदन दिएको र पुनः परीक्षा हुने भएपछि आफू सहभागी हुन तयार रहेको बताएका छन्। परीक्षामा सहभागी तीनै जना पुनः परीक्षा दिन तयार रहेको नगरपालिकाले जनाएको छ।
नगर प्रमुख ताराकुमारी काजी महतोका अनुसार त्रुटि कुनै बदनियतका कारण नभई कोडिङका क्रममा भएको प्राविधिक गल्ती हो। यसपटक विषय विज्ञ र परीक्षामा खटिने कर्मचारी परिवर्तन गरिनेछ।
त्रुटि गर्ने कर्मचारीसँग लिखित स्पष्टीकरणसमेत मागिसकिएको नगरपालिकाले जनाएको छ। यस विषयमा थारु कल्याणकारिणी सभा क्षेत्र नं। १ ले त्रुटि गर्ने कर्मचारीमाथि कानुनअनुसार कारबाहीको माग गरेको छ।
विद्यालयमा पठनपाठन प्रभावित भइरहेकाले पुनः परीक्षा गरी शिक्षक नियुक्ति प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।


प्रतिकृया दिनुहोस्