फाेटाे -अजित अधिकारी
११ कातिर्क , माडी
माडी नगरपालिका ७ स्थित देवेन्द्रपुर परुई किनारमा अस्थायी घर टहरा बनाई बस्दै आएका झन्डै ७८ घरधुरी चेपाङहरुले नयाँ घर पाउने आशा गरेर बसेका थिए । तर उनीहरूले राज्यबाट चिल्ला अाश्वासन बाहेक केहि पाउन सकेका छैनन् ।
कुसुमखोलाबाट बसाइँसराइ गरि परुई किनारमा बस्दै आएका चेपाङहरुलाई निवतर्मान मेयर ठाकुर प्रसाद ढकालले माडी नगरपालिकाद्वारा ७८ घरधुरी परिवारका लागि प्रति घरधुरी ३ कोठे घर र एक ओटा पक्की शौचालय निर्माण गरिदिने आश्वासन देखाएर यतिका बर्षसम्म आँफुहरुलाई अलपत्र अबस्थामा पारेको स्थानीय छबिलाल चेपाङले बताएका छन् ।
घर बनाउने घोषणा गरे लगत्तै नगरपालिकाले त्यस क्षेत्रमा घर बनाउनका लागि चाहिने पिल्लर, गिटी, बालुवा समेत झारेको थियो । तर संरक्षणको अभावमा र समयसीमा भित्र काम नहुँदा बर्षातको समयमा खोलाले बगाएर लगेको र केही पिलर भाँचिएको जिर्ण अबस्थामा देखिन्छ ।
बारम्बार घर बनाउने विषयमा नगरपालिकामा ताकेता गर्दै आएको भएपनि सुनुवाइ नभएको अर्का स्थानीय कमल चेपाङले बताए । घर बनाइदिने आश्वासन दिनुभएका मेयर ढकाल अहिले बागमती प्रदेशसभा सदस्य हुनुहुन्छ । तर अहिले यस बारेमा उहाँसंग कुराकानी हुँदा यस विषयमा कुनै आधिकारिक धारणा नआएको स्थानीयहरुको भनाइ छ ।
त्यस्तै माडीका विभिन्न राजनीतिक दलका नेताहरुले बिगतमा निर्माणाधिन अबस्थामा रहेको प्रस्तावित अयोध्या र परुईका चेपाङहरुको घर संगसंगै बनाउने प्रतिबद्धता समेत जाहेर गरेका थिए ।
त्यस्तै सुरुवाती चरणमा कृष्णनगरको धम्पुस चोक अर्थात् राई डाँडामा रहेका चेपाङहरुको घर बनाउँदा केही सालको रुख काटिएको भन्ने विषयमा मुद्दा परेपछि परुई किनार लगायतका अन्य क्षेत्रहरुमा घर बनाउने कार्य रोकिएको थियो । अहिले सो परुई किनार क्षेत्रमा आवास, बिजुली, खानेपानीको समस्या रहँदै आएको छ ।


प्रतिकृया दिनुहोस्