१७ कार्तिक , चितवन ।
चितवनमा जंगलमा निउरो टिप्न गएका एकजना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका २७ स्थित साविकको टाइगर टप्स होटल जाने बाटो आसपासमा आज करिब दिउँसो ३ बजे राधा कृष्ण सामुदायिक बनको जंगलमा निउरो टिप्न गएका एकजना बेपत्ता भएका हुन् ।
परिवारले भने बाघको आक्रमणमा परी अन्दाजी ४५ वर्षीय भीम कुमार महत्तोको मृत्यु भएको दाबी गरे । चितवन अपडेट सम्बाददातासँग कुरा गर्दै उनको ठूली आमासमेत रहेकी सोनु चौधरीले बाघले मारेको दाबी गरिन् । ” जंगल छेउमा बस्छौं ,निउरो घाँस गर्नुपर्छ ।चौधरीले भनिन् , लगाएको अन्नबाली समेत सबै बँदेल आएर खान्छ , त्यसैले जंगल जानुपर्छ ” ।
यसैगरी चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेश तिवारीका अनुसार बाघको आक्रमण भनेर हालसम्म पुष्टि भएको छैन । भोलि बिहान ७ बजेदेखि पुन: खोजी कार्य सुरु गर्ने उनले बताए ।
यसैगरी भरतपुर २७ का वडा सदस्य अर्जुन भण्डारीले घटनाबारे आफूहरुले करिब अपरान्ह ५ बजे थाहा पाएको जानकारी दिए ।उनले आज रातपरेका कारण जंगलमा प्रवेश गर्न नसकेकाले भोलि बिहानदेखि पुन: खोजी थालिने बताए । उनले बेपत्ता भएका महत्तो संगै अन्य ४ जना समेत निउरो टिप्न सँगै गएको जानकारी दिए । उनी मात्रै नफर्किएपछि बाघले आक्रमण गरेको आशंका गरिएको छ ।
मेघौलीमा बाघको आक्रमणमा परी केही समय अघि भरतपुर २८ का बोटे थरका एकजनाको मृत्यु भएको थियो ।
फोटो : बाघको प्रतीकात्मक तस्बिर ( बद्री अर्याल )


प्रतिकृया दिनुहोस्