काभ्रेपलान्चोक । बाढीले पृथ्वी राजमार्ग क्षतिग्रस्त भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । पृथ्वी राजमार्ग क्षतिग्रस्त भई मुग्लिङ–काठमाडौं सडकमा सवारी आवागमन अवरुद्ध भएसँगै बिपी राजमार्गबाट मालवाहक सवारीसाधन समेत सञ्चालन हुन थालेपछि चाप बढेको हो ।
यसैबिच जिल्ला प्रशासन कार्यालय काभ्रेले मालवाहक सवारीसाधनको तौल सिमा तोकेको छ भने मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षता तथा सुरक्षा निकायका प्रमुखको उपस्थितीमा बसेको जिल्ला सुरक्षा समिति बैठकले उक्त निर्णय गरेको हो ।
सडक जाम हुन नदिन ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको समन्वयमा धुलिखेलबाट खुर्कोट तर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारी साधनहरु सम्भव भएसम्म बाटोमा क्रस नहुने गरी समय व्यवस्थापन गर्ने निर्णय भएको छ । सडक डिभिजन कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम भएका साँघुरा घुम्तीहरू तथा अवरोध हुन सक्ने स्थानहरू पहिचान गरी सम्भव भए सम्मका सुधारका कार्यहरू तत्काल अगाडि बढाउने सहमति भएको छ ।
विपी राजमार्ग २०८१ असोजको बाढीपहिरोबाट क्षतविक्षत भएको थियो । हाल राजमार्ग पुर्ननिर्माण कार्य भइरहेको छ । राजमार्गका जोखिमयुक्त स्थलहरुमा सवारी साधन सहज पास गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजर तथा अन्य उपकरण समेत ’स्ट्यान्डबाई राख्ने निर्णय भएको छ । यस्तै बिपी राजमार्गमा १० टन तौल भन्दा बढिका सवारीसाधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सिमा कायम राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए ।


प्रतिकृया दिनुहोस्